कुमारीको दर्ज्यु संलापमाथि पोखरामा चर्चा
पाेखरा | चैत ३०, २०८१
पोखरा: साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दज्र्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ ।
र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दज्र्यु संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको जबाफ खोजिएको बताए ।
प्रस्थान नामक उपन्यासका लेखकसमेत रहेका तामाङले दर्ज्यु संलापमा आख्यानात्मक निबन्धहरू समेटिएको धारणा राखे ।
“सामाजिक कुरीति, कुसंस्कार, विभेद, अन्यायप्रति सिर्जनशील विद्रोह बनेकी छन् निबन्धकार” कुमारले भने, “सभ्यता, धर्म, संस्कारको झेली खोलभित्र लुकाइएको असभ्य, अधार्मिक अनि कुसंस्कारी अभ्यासमाथि रचनात्मक विद्रोह पोखिएको छ कृतिभित्र ।” नेपाली समाजको जीवन्त प्रतिविम्बका रूपमा कृति आएको भन्दै उनले कृति पठनीय रहेको विचार राखे ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा निबन्धकार कुमारी लामाले खास गरी तामाङ समुदायका विश्वासहरूलाई समेटेर निबन्ध लेखेको बताइन् ।
समावेशी समाजको आवाजलाई मुखरित गर्ने प्रयास गरेको बताउँदै लामाले आदिवासी सौन्दर्य चेतनाका साथै पृथ्वीमा भएका सम्पूर्ण अस्तित्वलाई सम्बोधन गर्नुपर्ने धारणा निबन्धमार्फत प्रस्तुत गरेको भनाइ राखिन् ।
रैथाने संस्कार र पर्यावरणमैत्री विकास हुनुपर्ने बताइन् । विकासका नाममा भएका मानव सभ्यतामाथिको अत्याचारलाई लेखकहरूले ध्यान दिनुपर्ने उनको विचार थियो ।
कोही मातृभाषीले नेपाली भाषा शुद्ध प्रयोग गर्दा ट्रोलको सिकार बन्नुपर्ने र कोही नेपाली भाषा शुद्ध प्रयोग गर्न नसक्दा ट्रोलमा पर्नुपर्ने अवस्था आएको अनुभवसमेत सुनाइन् ।
यसअघि ‘उज्यालो अन्धकार’ निबन्ध सङ्ग्रह ल्याइसकेकी लामाको ‘दज्र्यु संलाप’ दोस्रो निबन्ध सङ्ग्रह हो ।
दर्ज्यु संलापमा समाज संवार्ता, सैलानी समय र दृश्य अदृश्य गरी ३ खण्डमा १७ ओटा निबन्ध समेटिएका छन् ।
कार्यक्रममा गौरी तमू, सुरज पौडेल, दीपक पराजुली, प्रवीण बडगामीलगायतले टिप्पणी गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि बहस गर्दै आएको छ ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

